आई एन एफ को ७१ औं स्थापना दिवस एक विशेष समारोहका बीच हरियो खर्क अस्पताल परिसर, पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यल सन् २०३० सम्ममा नेपाल सरकारले लिएको कुष्ठरोग अन्त्य गर्ने लक्ष्य पश्चिम नेपालको स्वास्थ्य क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको यसै संस्थाको नेतृत्वमा प्राप्त होस् भनी आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा उद्घाटन प्रार्थना आई एन एफ नेपाल कार्यकारिणी समितिका सल्लाहकार डा. दीपेन्द्रकुमार गौतमले गनुर्भयो । त्यस्तै, समितिका उपाध्यक्ष राजेन्द्र कुमार अधिकारीले स्वागत मन्तव्य राख्नुभयो । उहाँले स्वास्थ्य क्षेत्र अत्यन्त व्यवसायमूखी भईरहेको वर्तमान सन्दर्भमा गुणस्तरीय स्वास्थ्य सेवामा आमनागरिकको पहुँच वृद्धिका लागि आई एन एफ र स्थानीय सरकार लगायत नेपाल सरकारका विभिन्न निकायहरु बीच थप सहकार्य हुनुपर्ने तर्क प्रस्तुत गर्नुभयो ।

आई एन एफ नेपालका कार्यकारिणी समिति अध्यक्ष रामचन्द्र तिमोथीले अग्रजहरुको योगदान सहित गर्बिलो इतिहास बोकेको संस्थाले आफ्नो गरिमालाई उच्च राख्न निरन्तर अथक प्रयास गर्दै आएको तर्फ जोड दिनुभयो । त्यसैगरि, आई एन एफ ईन्टरनेशनलका कार्यकारिणी समिति अध्यक्ष फिल लिन्जेले आई एन एफ नेपालको असल कामका लागि सम्पूर्ण आई एन एफ परिवार निरन्तर साथमा रहने विचार व्यक्त गर्नुभयो ।

आई एन एफ नेपालका बारेमा संक्षिप्तमा प्रकाश पार्दै संस्थाका कार्यकारी निर्देशक कृष्ण अधिकारीले आई एन एफ नेपालको दीर्घकालीन योजनाका बारेमा प्रष्ट्याउनु भयाे । उहाँले हरियो खर्क अस्पताललाई अपांगता तथा पुनस्र्थापनामा आधारित तथा दीर्घरोग हेरचाह गर्ने प्रशामक सेवा सहितको ५०० शैय्याको विशिष्टिकृत अस्पतालका रुपमा विकास गरिने योजना सुनाउनु भयो । यसका लागि स्थानीय सरकार तथा दातृनिकायहरुको साथ, सहयोग र अभिभावकत्वको खाँचो रहेको बिचार व्यक्त गर्नुभयो ।

नगर प्रमुख आचार्यले नेपालका ग्रामीण समुदायमा स्वास्थ्य सेवा लगायत अति विपन्न वर्गहरुको सशक्तिकरण तथा उनीहरुको जीविकोपार्जनमा सहयोग गर्नुका साथै पोखरामा रहेर विगत लामो समयदेखि स्वास्थ्य सेवा विकास तथा प्रवद्र्धनमा आई एन एफले खेलको महत्वपूर्ण भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “हामी पर्यटनको राजधानी पोखरालाई स्वास्थ्य पर्यटनका हिसाबले समेत अगाडी बढाउने योजनामा छौं र यसमा आई एन एफले अग्रणी भूमिका खेल्न सक्छ ।” नगर प्रमुख आचार्यले आगामी दिनहरुमा आई एन एफ नेपालसँग सहकार्य गरि अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं. १ का वडाध्यक्ष साहारा प्रधान, वडा नं. १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ, गैह्रसरकारी संस्था (गैसस) महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदी तथा पोखरेली ख्रीष्टीय समुदायका अध्यक्ष रामप्रसाद शर्माले शुभकामना मन्तव्य राख्नुभयो ।

गैसस महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले नेपालको पश्चिम क्षेत्रमा स्वास्थ्य सेवालाई विकास तथा विस्तार गरि यस क्षेत्रकै अग्रणी स्वास्थ्य संस्थाका रुपमा स्थापित यस आई एन एफ प्रति आफ्नो उच्च सम्मान रहेको विचार व्यक्त गर्नुभयो । समाज रुपान्तरण तथा देश विकासमा सरकार, निजी क्षेत्र तथा नागरिक समाजले एक अर्कासँग हातेमालाे गरेर अगाडी बढ्नुपर्ने बताउनु भयो । नागरिक समाजको अभिन्न अंगका रुपमा रहेका गैह्रसरकारी संस्थाहरुले समाजिक परिचालन मार्फत समाजमा निकै सकारात्मक उपलब्धिहरु हसिल गरिरहेको जानकारी गराउनु भयो । उहाँले भूकम्प जस्ता प्राकृतिक विपद् तथा कोभिड महामारी लगायतका प्रतिकुल समयमा पनि आई एन एफ लगायत अन्य गैसस संस्थहरुको भूमिका अग्रणी रहेको स्मरण गराउनु भयो । हुनेखाने र हुँदाखानेहरु बीचको स्वास्थ्य सेवाको पहुँचमा रहेको खाडल पुर्न तथा नेपालको संविधानले मौलिकहकका रुपमा व्याख्या गरेको स्वास्थ्य सेवालाई कार्यान्वयन गर्ने क्रममा आई एन एफ जस्ता गैससहरुको भूमिका प्रशंसनिय रहेको र यस्ता संस्थाहरुले सोही अनुसारको सम्मानको अपेक्षा गर्ने विचार व्यक्त गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय समुदायको विश्वास जितेर नेपाली नागरिकलाई सेवा दिन तल्लिन गैससहरुले ठूलो संख्यामा रोजगारी सृजना गरेको र करमार्फत राज्यको आयआर्जनमा टेवा पु¥याएको हुँदा राज्यबाट सोही अनुसारको प्रोत्साहन पाउनुपर्ने जिकिर प्रस्तुत गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत हुने पाँच जना आई एन एफ कर्मी (तीन जना स्वदेशी कर्मचारी तथा दुई जना विदेशी स्वंयसेवक) हरुलाई विशेष सम्मान गरिएको थियो । आई एन एफको सुर्खेतस्थित फिस्टुला केन्द्रको नेतृत्व गर्नुहुने बेलायती नागरिक प्रसुती विशेषज्ञ तथा प्रसव फिस्टुला शल्यचिकित्सक डा.सर्ली हेउडले नेपालकै अग्रणी स्वास्थ्य पत्रिका स्वास्थ्य खबरद्वारा प्रदान गरिएको ११ औं स्वास्थ्य खबर हेल्थ अर्वाड जित्नुभएको थियो । त्यसैगरि फिस्टुला केन्द्रमै कार्यरत डा. शुभेच्छा देवा श्रेष्ठले बेलायतको फिगो फेलोशिप अर्वाड प्राप्त गर्नुभएकाे थियो । हरियो खर्क अस्पतालमा अवस्थित कान केन्द्रका अगुवा बेलायती नागरिक नाक कान घाँटी विशेषज्ञ तथा शल्यचिकित्सक डा.माइक स्मिथले बेलायती सरकारद्वारा प्रदान गरिने ओबिई अवार्ड प्राप्त गर्नुभएको थियो । त्यसैगरि आई एन एफको कुष्ठरोग कार्यका लागि हरियो खर्क अस्पतालमा कार्यरत डोरोथी दास र थम बहादुर गुरुङले जर्मनस्थित ईकेएफएस नामक संस्थाद्वारा प्रदान गरिने डेभलपमेन्ट कोअपरेसन इन मेडिसिन अर्वाड प्राप्त गर्नुभएको थियो । यसरी सम्मानित स्वास्थ्यकर्मीहरु तथा पुरस्कारका बारेमा आई एन एफ नेपालका मेडिकल सर्भिसेज डाइरेक्टर डा.अरुण कुमार बुढाले संक्षिप्त प्रस्तुतीकरण गर्नुभयो ।

कार्यक्रममा वि.सं. २०७७ पछि अवकाश प्राप्त कर्मचारीहरुलाई कदरपत्र प्रदान गरिएको थियो । साथै आई एन एफ दिवसका अवसरमा आयोजित खेलकुद सप्ताहका विभिन्न खेलकुद विधाका विजेता कर्मचारीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

हरियो खर्क अस्पतालका कर्मचारीहरुद्वारा गीत तथा नृत्य प्रस्तुत गरिएको कार्यक्रमको सञ्चालन धनमाया गुरुङले गर्नुभयो ।

Photos from the day.