हरियो खर्क अस्पताल तथा पुनस्र्थापना केन्द्र, नयाँगाउँमा “कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौं, मर्यादित व्यवहार गरौं” भन्ने नाराका साथ ७१ औं विश्व कुष्ठरोग दिवस सम्पन्न भएको छ । यो दिवस हरेकवर्ष जनवरी महिनाको अन्तिम आईतबार विश्वभर विभिन्न कार्यक्रम गरि मनाइन्छ ।

नेपाल सरकारले वि.सं.२०६६ (सन् २०१०) मा नै नेपालबाट राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । सन् २०३० सम्ममा कुष्ठरोगको संक्रमणदरलाई शून्यमा झार्ने लक्ष्य साथ अगाडी बढेको नेपाल सरकारको यस लक्ष्यलाई पुरा गर्न सबैजना यस रोग बिरुद्ध अझै घनीभूत रुपमा संघर्ष जारी राख्नुपर्नेमा कार्यक्रममा उपस्थित वक्ताहरुको ऐक्यबद्धता रहेको थियो । राष्ट्रियस्तमा निवारणको आँकडा देखिएपनि दिगो रुपमा तल्लो तहबाटै कुष्ठरोग निवारण तथा उन्मूलनका लागि स्थानिय तहकै सहभागिता तथा नेतृत्वमा कुष्ठरोगमुक्त समाज निर्माण अभियानमा सबैजना जुट्नपर्ने तर्फ सबै वक्ताहरुले जोड दिनुभयो । 

कार्यक्रमको समुद्घाटन पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष तोरण बहादुर बानियाँ तथा आई एन एफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारीले संयुक्त रुपमा  हरियो खर्क अस्पतालमा उपचारारत दुई जना बिरामीहरुलाई फलफूल दिएर गर्नुभएको थियो ।

कार्यक्रममा आई एन एफ नेपालका मेडिकल सर्भिसेज डाइरेक्टर डा अरुण कुमार बुढाले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै यस दिवस मनाउनुको महत्वमाथि प्रकाश पार्नुभयो । कुष्ठरोग सम्बन्धी समस्याहरु धेरै हदसम्म बाँकी नै रहेको, सरकारी लगायत राष्ट्रियअन्तर्राष्ट्रिय निकायहरुको पर्याप्त ध्यान यसतर्फ जान नसकेको, कुष्ठरोगसँग सम्बन्धित सचेतना तथा उपचारलाई अझ समुदायस्तरसम्म फैलाउँदै जानुपर्ने टड्कारो आवश्यकताका बीच कुष्ठरोगबाट प्रभावितहरुको संघर्ष र सफलताका कथाहरु अनि उनिहरुको जीवनोत्सव मनाउन पनि यो दिवस हरेका वर्ष आयोजना गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय कास्कीका कार्यालय प्रमुख राम बहादुर नेपालीले आफ्नो व्यावसायिक जीवनको यात्रा आई एन एफबाटै शुरुगरेको स्मरण गर्नुहुँदै, कुष्ठरोग तथा क्षयरोग नियन्त्रणमा आई एन एफले खेलेको भूमिकाका अत्यन्त्र महुत्वपूर्ण रहेको भन्दै संस्थाको कार्यको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा हरेक वर्ष करिब १८० बालबालिका सहित २३०० जना कुष्ठरोगका नयाँ संक्रमितह देखिने गरेको छ । यसको अर्थ समुदायस्तरमा संक्रमण फैलने क्रम जारी नै रहेको छ ।” विशेषगरी मधेश तथा लुम्बिनी प्रदेशमा अझैपनि कुष्ठरोगको संक्रमणको अवस्था अरु प्रदेशमा भन्दा बढी रहेको भन्दै स्थानीयस्तरमा नै यस रोगका बारेमा सचेतना पु¥याउनु पर्ने तथा कुष्ठप्रभावितहरु प्रति हुने हेलाँ, घृणा तथा तिरस्कारजन्य व्यवहारको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

त्यसै गरि कार्यक्रमका अर्का अतिथि, प्रदेश स्वास्थ्य निर्देशनालयकी कुष्ठरोग फोकल पर्सन गीता कुँवरले यस अभियानमा स्वास्थ्य निर्देशनालयको साथ सहयोग रहने जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले कुष्ठरोग उपचारका क्षेत्रमा बिगत ७० वर्ष भन्दा बढी समयदेखि सेवारत आई एन एफ नेपाल हरियो खर्क अस्पताल र यस संस्थासँग सम्बद्ध सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी र विशेषगरी अस्पतालका सुरुवातकर्ता आईलिन लज र बेट्टी बेली प्रति कृतज्ञता व्यक्त गर्नुभयो । वडाध्यक्षले उहाँहरुकै योगदानको कारण हाल कुष्ठरोग न्यूनिरणको अवस्थामा पुगेको कुरा बताउनु भयो । अझै पनि चुनौतीको चाङ रहेको तर्फ सचेत गराउँदै सन् २०३० सम्ममा शुन्यमा झार्ने लक्ष्य प्राप्त गर्न सबैले २०६६ अगाडीकै रफ्तारमा काम गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा आई एन एफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारीले संस्थाको संक्षिप्त इतिहास बताउनुहुँदै, सम्पूर्ण कर्मचारी, साझेदार निकायहरु, संस्थाका अग्रज व्यक्तित्वहरु तथा सेवाग्राहीलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले आई एन एफ नेपालले कुष्ठरोग निवारणका लागि हिजो, आज र भोलीको रणनीतिलिएर अगाडी बढेको बताउनु भयो । उहाँले भन्नुभयो, “हिजो हामी बचाउमा लाग्यौं, आज हामी निवारणमा काम गर्दैछौं र भोली उन्मूलन अर्थात कुष्ठरोगलाई शून्यमा झार्न तर्फ लागि परेका छौं” । उहाँले नेपाल सरकारको शून्य कुष्ठरोग रणनीतिप्रति आई एन एफ नेपाल प्रतिबद्ध रहेको र तमाम् चुनौतीका बाबजुत पनि सबैको साथ, सहयोग र साझेदारी मार्फत त्यो लक्ष्यमा पुग्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा आई एन एफ नेपालका कुष्ठरोग संयोजक याम जिसीले कुष्ठरोगका क्षेत्रमा संस्थाले गरेको कार्य तथा गतिविधिहरुको संक्षिप्त प्रस्तति दिनुभएको थियो भने हरियो खर्क अस्पतालको मेडिकल आउटरिच टिमले सन्देशमूलक नाटक प्रस्तुत गरेको थियो ।

हरियो खर्क अस्पताल परिसरमा अवस्थित बहुउद्देश्यीय सिकाई भवनमा आयोजित कार्यक्रममको सञ्चालन अमृता पौडेलले गर्नुभएको थियो । कार्यक्रममा आई एन एफ नेपालका कर्मचारी तथा अस्पतालमा उपचारारत सेवाग्राहीहरुको उपस्थिति रहेको थियो ।

कुष्ठरोग सन्दर्भमा केही जानकारीः

मानव सभ्यताकै प्राचीन रोगहरु मध्येको कुष्ठरोग, विश्व स्वास्थ्य संगठनका अनुसार हाल पनि विश्वका १२० भन्दा बढी देशमा संक्रमण पाईने गरेको तथा वर्षेनी करिब २ लाख मानिसमा यो रोग देखिने गरेको छ । ७० वर्ष अघि सम्म पनि नेपालको कुल जनसंख्याको करिब १ प्रतिशत मानिसमा कुष्ठरोग संक्रमण रहेको आँकलन गरिन्छ । गम्भीर स्वास्थ्य समस्याका रुपमा रहेको यस रोगबाट प्रभावित व्यक्तिहरु उपचारको अभावमा अंगभंग हुने तथा लाञ्छना र सामाजिक बहिस्कारको शिकार हुनुपरेको इतिहास पाइन्छ । त्यस्तो प्रतिकुल समयमा आई एन एफले कुष्ठरोगबाट प्रभावितहरुको उपचार तथा पुनस्र्थापनाका लागि आज भन्दा वि.सं. २००९ (सन् १९५२) मा नेपाल–भारत सीमानाको नौतुना हुँदै पोखरा आएर तत्कालिन साईनिङ अस्पताल र लगत्तै हरियो खर्क अस्पताल मार्फत सेवा पुर्‍याएको थियो ।

कुष्ठरोग कुल देवता बिग्रेर वा पूर्व जन्मको पापको कारण लाग्ने नभै माइक्रोब्याक्टेरियम लेप्रे नामक एक किटाणु (ब्याक्टेरिया) का कारण लाग्ने रोग हो । शूरुको अवस्थामानै रोगको निदान र उपचार गरेमा, बिरामी अंगभंग हुन पाउँदैन र यो रोग अरुलाई पनि सर्दैन । यसका लागि नजिकैको सरकारी स्वास्थ्य संस्थाहरु वा आई एन एफ नेपालको पोखरास्थित हरियो खर्क अस्पताल, साथै बाँके र सुर्खेतमा अवस्थित साइनिङ अस्पतालहरूमा सम्पर्क गर्न सक्नुहुनेछ ।