विगत दुई दशक देखि आई एन एफ नेपालमा आबद्ध भई कर्णाली क्षेत्रमा प्रसुती तथा फिस्टुला सम्बन्धी सेवा प्रदान गर्दै आईरहेकी बेलायती नागरिक स्त्रीरोग विशेषज्ञ तथा शल्यचिकित्सक डा. शर्ली हेउड ११ औं स्वास्थ्य पुरस्कारबाट यही शुक्रबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा सम्मानित भएकी छिन् ।

नेपाल लाइभ ग्रुपद्वारा प्रकाशित स्वास्थ्य खबरपत्रिकाले स्वास्थ्य मन्त्रालयको साझेदारीमा हरेक वर्ष स्वास्थ्य पुरस्कार ‘हेल्थ अवार्ड’ प्रदान गर्दै आएको छ । यस पटकको स्वास्थ्यखबर हेल्थ अवार्ड दिगो विकास लक्ष्यमा योगदान पुर्‍याउनेहरुलाई प्रदान गरिएको छ। यस वर्षको पुरस्कार दिगो विकासका लक्ष्यहरुः राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर’ विषयमा केन्द्रित रहेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्यका १० वटा विधामा १३ जनालाई अवार्ड प्रदान गरेका हुन् । डा. शर्ली हेउड स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच विधा अन्तगर्त पुरस्कृत भएकी हुन् । उनीसँगै सोही विधामा पुरस्कृत हुनेमा जर्मन नागरिक डा. आर्ने ड्रयुज रहेका छन् ।

अवार्ड पाउनेहरुमा हुम्लाकी नर्स सुस्मिता बोहरा, बर्दिया अस्पतालका डा विश्वनाथ शाह, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका हेमराज जोशी, आनन्दवन अस्पताल ललितपुरका डा महेश साह, धनसिंहपुर स्वास्थ्य चौकी टीकापुर, कैलालीका केबलसिंह सार्की, गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाल, नेपाल प्रहरी अन्तर्गतको आसरा सुधार केन्द्र, स्वर्गद्वारी नगरपालिका, भलुवाई स्वास्थ्य चौकी सिरहाकी अनमी जुही खातुन, जर्मनीका डा आर्ने ड्र्युज, बेलायतकी डा सेर्ली हेउड, हेल्थ इन्भाएरोमेन्ट एन्ड क्लाइमेट एक्सन फाउन्डेसनका महेश नकर्मी र ताप्लेजुङकी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका शर्मिला लिङ्देन रहेका छन् ।

डा. शर्लीले कर्णाली प्रदेशमा आई एन एफको फिस्टुला सम्बन्धी कार्यको नेतृत्व गर्छिन् । सन् २००३ मा आई एन एफ सँगको यात्रा शुरू गर्दै गर्दा जब उनले कर्णालीमा पहिलो पटक पाहिला टेकिन्, त्यहाँका महिलाहरुले भोग्नु परेको स्वास्थ्य समस्याबारेमा साक्षात्कार हुने मौका पाइन् ।

उनले मुगुको एउटा स्वास्थ्य शिविरको दौरान एकजना किशोरी भेटिन् । ती किशेरीको १३ वर्षकै उमेरमा विवाह भएको थियो । उनले विवाहको एक वर्षपछि तीन दिनको सुत्केरी पीडापछि मृत बच्चा जन्माएकी थिइन् । ती किशोरीलाई प्रसव फिस्टुला भएको थियो । प्रसव फिस्टुला लामो र कठिन सुत्केरी ब्यथाका कारण पिसाव थैली वा पिसाव नली वा आन्द्रामा प्वाल पर्न जाँदा हुन्छ । प्रसव फिस्टुला भएपछि महिलाहरु पिसाव नियन्त्रण गर्न सक्दैनन् र लगातार रुपमा दिनरात पिसाव वा दिसा योनीमार्गबाट बग्दछ । यसरी प्रसव फिस्टुलाबाट पीडित महिलाहरु छिछि र दुरदुरको शिकार हुने गर्छन् ।

यस्ता समस्या र बेदनाले भरिएका दृश्यहरुले डा. शर्लीको मनमा बेस्कन गाँठो परेको थियो । आफूलाई लागेको रोगको उपचार सम्भव छैन भन्ने सत्य बोकेर बसेका महिलाहरुको भाग्य देखेर उनी पीडाको आहालमा डुब्थिन् । यो पीडाको आहाल सफा गर्नु आफ्नो जीवनको एकमात्र ध्येय ठानिन् ।

त्यतिबेला फिस्टुलाका बिरामीको शल्यक्रिया गर्न तालिम प्राप्त स्वास्थ्यकर्मीको अभाव थियो । उनी स्वयंले फिस्टुला उपचार सम्बन्धी तालिम इथियोपियामा गएर लिइन् । उनले सुर्खेतको सरकारी अस्पतालको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिन् जहाँ धेरै महिलाको शल्यक्रिया गरियो । सन् २०११ मा, उनको टीमले ५६ वटा फिस्टुलाको सफल शल्यक्रिया गर्न सफल भयो ।

शुरूमा कर्णालीका विभिन्न जिल्लाहरूमा फिस्टुला सम्बन्धी शिविरहरू सञ्चालन गरियो । डा. शर्लीले त्यसरी सँधै सम्भव नहुने हुनाले कर्णालीमै फिस्टुला उपचारका लागि एक समर्पित अस्पतालको अवश्यकता महसुस् गरिन् जसबाट त्यहाँका धेरै महिला लाभान्वित हुने तथा जहाँ स्थानीय चिकित्सकहरूलाई तालिम दिन सकियोस् ।

यसरी डा. शर्लीको सपना र आई एन एफको निरन्तरको प्रयास पछि सम्भव भयो कर्णाली प्रदेश अस्पताल परिसरमा १७ शैय्याको फिस्टुला केन्द्र, जहाँ वार्षिक ३०० जनासम्म महिलाको निशुल्क उपचार गर्न सकिन्छ ।

डा. शर्लीले आफूलाई गरेको उपचार र हेरचाह प्रति कृतज्ञ महिलाहरु उनलाई माया र सम्मानले आमा भनेर बोलाउँछन् । २० वर्षदेखि नेपाललाई नै आफ्नो थातथलो मानेर बसेकी स्त्रीरोग विशेषज्ञ डा. शर्ली आफैं पनि नेपाललाई आफ्नो पहिलो घर भन्न रुचाउँछिन् ।